वीरगञ्जस्थित गोल्डेन ग्लोभ स्कूलका शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते, शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

वीरगञ्जस्थित गोल्डेन ग्लोभ स्कूलका शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते, शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

        वीरगञ्ज । विद्यार्थीलाई कुटपिट गरेको आरोपमा एक शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिकाको – १९ स्थित गोल्डेन ग्लोभ बोर्डिङ स्कूलका शिक्षक शशि यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।


शिक्षक यादवको कुटपिटबाट गोल्डेन गल्ब स्कुलका कक्षा ३ का एक विद्यार्थी घाइते भएका छन् । घाइते विद्यार्थीको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । उनको आँखा र शरीरको विभिन्न भागमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।


घाइते विद्यार्थीका बुवाका अनुसार विद्यालयमा दुई दिन अनुपस्थित भएको भन्दै यादवले उनीमाथि कुटपिट गरेका थिए । उनले भने “बिरामी भएपछि छोरा दुई दिनसम्म विद्यालय जान सकेको थिएन । त्यसकै निहुँमा शिक्षक शशी यादवले चौथो घण्टीमा छोरालाई पाइपले कुटपिट गर्दै घाइते बनाएका छन् । छोरा घाइते भएपछि विद्यालयले उसको प्राथमिक उपचार समेत गरेन ।’ बहुदरमाई नगरपालिका – ६ गम्हरिया निवासी घाइते विद्यार्थी प्रत्येक दिन गाउँबाट स्कुल पढ्न आउने गरेका छन् ।


शिक्षकको कुटपिटबाट दिउँसो १ बजे घाइते भएका विद्यार्थी अपराह्न ४ बजे घर पुगेपछि मात्र घटना बारे जानकारी पाएको उनका बुवाले यात्रा डेलीसँगको कुराकानीका क्रममा बताए । ‘छोरा घर आएपछि उसलाई हामीले उपचारका लागि नारायणी अस्पताल लगेका थियौँ । प्रहरीमा स्कुल र शिक्षकविरुद्ध उजुरी गर्‍यौँ,’ उनले भने ।


विद्यार्थीमाथि कुटपिट गर्ने शिक्षक यादव अहिले प्रहरी नियन्त्रणमा छन् । अस्थायी प्रहरी पोस्ट विन्दवासिनीका प्रहरी सहायक निरीक्षक (असई) रामबाबु गुप्ताले बताए । उनलाई अहिले नियन्त्रणमा राखेर सोधपुछ भइरहेको असई गुप्ताले जानकारी दिए ।


हाल वीरगञ्ज महानगरपालिकाले सामुदायिक तथा निजी विद्यालयहरूमा जाडो बिदा दिएको छ । यद्यपि सो निर्देशनलाई लत्त्याउँदै केही निजी विद्यालयहरूले कक्षा सञ्चालन गरिरहेका छन् ।